अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा टिकटकलाई ७५ दिनको समय सीमा

3 महीना पहिले प्रकाशित

एजेन्सी, माघ ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनभित्र अमेरिकामा आफ्नो स्वामित्व बेच्न वा प्रतिबन्धको सामना गर्नुपर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उनले राष्ट्रपति भवन ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै टिकटकको भविष्यबारे विभिन्न अमेरिकी धनाढ्यहरूले चासो देखाएको जानकारी दिए।

टिकटकको माउ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक सञ्चालनको स्वामित्व बेच्नुपर्ने या प्रतिबन्धको सामना गर्नुपर्ने बाध्यता ट्रम्पले स्पष्ट गरेका छन्। उनले संयुक्त उद्यमका रूपमा ५० प्रतिशत स्वामित्व अमेरिकालाई र ५० प्रतिशत बाइटडान्ससँग रहने योजनाको प्रस्ताव पनि राखेका छन्। यो विवादबारे सर्वोच्च अदालतले प्रतिबन्ध आदेश जारी गरेपछि टिकटक अस्थायी रूपमा बन्द भएको थियो। तर, ट्रम्पले कार्यकारी आदेश जारी गरेपछि पुन: सञ्चालनमा आएको छ।

टिकटकका कार्यकारी प्रमुख शाउ जी चिउले ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिएका थिए। इलन मस्क, मार्क जुकरबर्ग, र जेफ बेजोसजस्ता अन्य चर्चित हस्ती पनि कार्यक्रममा सहभागी थिए। विपक्षीहरूले टिकटकलाई स्वतन्त्रताको अधिकार अन्तर्गत चल्न दिनुपर्ने तर्क गरेका छन्, जबकि बाइडेन प्रशासनले यसलाई चीनको जासुसी र राजनीतिक प्रभावको उपकरणका रूपमा व्याख्या गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?