भीम रावलको समर्थनमा सुदूरपश्चिमका ५९ नेता–कार्यकर्ताले एमाले परित्याग गरे

6 महीना पहिले प्रकाशित

काठमाडौं, माघ ७ गते ।  नेकपा एमालेले पार्टीबाट निष्कासित गरेको भीम रावलको पक्षमा सुदूरपश्चिमका ५९ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। उनीहरूले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा गरिएको रावलको निष्कासनलाई स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णय भन्दै भर्त्सना गरेका छन्। साथै, राष्ट्रिय स्वाभिमान र समृद्धिको पक्षमा र भ्रष्टाचारविरोधी आवाजलाई समर्थन गर्न अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन्।

पार्टी छाड्नेहरूमा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्टलगायत रहेका छन्। विज्ञप्तिमा रावलको पार्टी अध्यक्षमा प्रतिस्पर्धा र राष्ट्रिय स्वाधीनता, समृद्धि, तथा भ्रष्टाचारविरोधी आवाज उठाएकै कारण सदस्यता खारेज गरिएको आरोप लगाइएको छ। एमाले सचिवालयले अनुशासन उल्लंघनको आरोपमा पुस १० गते भीम रावललाई पार्टीबाट निष्कासन गरेको थियो। विज्ञप्ति जारी गर्ने कार्यकर्ताहरूले रावलको साथमा उभिन प्रतिवद्धता जनाएका छन्।

 

 



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?