रौतहट प्रहरीको ६ महिने प्रगति: २.५ करोडको अवैध सामानसहित ६६ तस्कर पक्राउ

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ४ गते । रौतहट प्रहरीले गत ६ महिनाको अवधिमा २ करोड ४२ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरी ६६ जना तस्करलाई पक्राउ गरेको छ। बिहीबार सार्वजनिक गरिएको प्रगति विवरणअनुसार, भारतीय बजारबाट तस्करी गरी भित्र्याइएका सामानहरूमध्ये २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई-रिक्सा, १०८ थान मोटरसाइकल र १४ थान साइकल पनि समेटिएको छ। बरामद सामान भन्सारमा बुझाइएको र तस्करीमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए। यसैगरी, १५ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी र २१ चोरीका मोटरसाइकलसहित २४ जना व्यक्तिलाई पक्राउ गरिएको छ।

प्रहरीले ६ महिनामा कर्तव्य ज्यान, जबरजस्ती करणी, लागूऔषध, चोरी, हातहतियार तथा वन तस्करीसहित विभिन्न मुद्दाहरूमा उल्लेख्य सफलता हासिल गरेको छ। ११८ क्यूफिट सालको काठ र नदीजन्य पदार्थसहित २३ वटा सवारी साधन नियन्त्रणमा लिई ८२ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत चलेका सवारीसाधनलाई कारबाही गरी ६८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। चालू आवमा अधिकांश मुद्दाहरू फर्छ्यौट गरिएको विवरणले प्रहरीको सक्रियता र परिणाममुखी कार्यप्रति सकारात्मक प्रभाव देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?