सिके राउतको आपत्ति: "दुई दलीय तानाशाही नेपाललाई अस्वीकार्य"

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, पुस २५ गते ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालमा दुई दलीय तानाशाहीको प्रयास भइरहेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्वाचन कानुन संशोधनमार्फत थ्रेस होल्ड बढाउने योजनाले सानो समूहहरूको आवाज दबाउने प्रयास गरिएको आरोप लगाए। अध्यक्ष राउतका अनुसार धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक, र जातीय विविधता भएको नेपालमा सबै समुदायको प्रतिनिधित्व संसद्मा सुनिश्चित हुनु आवश्यक छ।

उनले थ्रेस होल्ड वृद्धि गरेर लाखौं जनताको मतलाई खारेज गर्ने र ठूला दललाई मात्र फाइदा पुग्ने प्रावधान जनताको भावना विपरीत रहेको दाबी गरे। वर्तमान निर्वाचन कानुनमा प्रतिनिधिसभाका लागि तीन प्रतिशत र प्रदेशसभाका लागि डेढ प्रतिशत थ्रेस होल्ड रहेकोमा, त्यसलाई क्रमशः पाँच प्रतिशत र तीन प्रतिशत पुर्‍याउने संशोधन प्रस्तावको उनले कडा आलोचना गरेका छन्। अध्यक्ष राउतले लेखेका छन्, "नेपाललाई दुई दलीय तानाशाहीको बाटोमा लैजान खोज्ने प्रयास स्वीकार्य छैन। हामी सानो समूहहरूको आवाज दबाउने यो अन्यायपूर्ण प्रावधानविरुद्ध संघर्ष गर्न तयार छौं।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?