तिरुपति विष्णु निवासममा भागदौड: ६ भक्तजनको मृत्यु, ४० घाइते

6 दिन पहिले प्रकाशित

नयाँ दिल्ली, पुस २५ गते ।  भारतको आन्ध्र प्रदेशस्थित तिरुपति विष्णु निवासम आवासीय परिसरमा भागदौड हुँदा ६ जना भक्तजनको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा पाँच महिला र एक पुरुष रहेका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। घटनास्थलमा भक्तजनहरूको भीड अत्यधिक हुँदा यस्तो दुःखद घटना घटेको हो। बिहीबार बिहान ५ बजेदेखि ९ वटा काउन्टरमा दर्शनका लागि टोकन वितरणको व्यवस्था गरिएको थियो। तिरुपति शहरका आठ स्थानमा टिकट वितरण केन्द्रहरू बनाइएको भए पनि एक विद्यालयमा स्थापित केन्द्रमा भीड नियन्त्रण बाहिर जाँदा भागदौड मच्चिएको बताइएको छ।

घटनापछि आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले मृतकप्रति गहिरो समवेदना व्यक्त गर्दै स्थिति नियन्त्रणमा लिन पहल गरेका छन्। उनले बिहीबार दिउँसो आफैं तिरुपति पुगेर स्थितिको अवलोकन गर्ने जानकारी दिएका छन्। वैकुण्ठ एकादशी, जुन हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व हो, शुक्रबार (जनवरी १०, २०२५) मनाइनेछ। यो पर्व विशेष गरी धनुर महिनामा पर्ने भएकाले यसलाई तमिल परम्परामा धनुरमास वा मार्गझी महिना भनिन्छ। दर्शनका लागि भक्तजनहरूको अत्यधिक उपस्थिति नै घटनाको मुख्य कारण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?