संघीयता सुदृढीकरणका लागि संविधान संशोधनको आवश्यकता
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस १९ गते । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई सुदृढ बनाउन संविधान संशोधनको अपरिहार्यता औँल्याउनुभएको छ। उहाँले संविधान संशोधन संघीय संरचनालाई मजबुत बनाउने आधारका रूपमा महत्वपूर्ण हुने बताउँदै संघीयतालाई अझ प्रभावकारी बनाउन यो कदम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित केन्द्र, प्रदेश, तथा जिल्ला तहका पत्रकारहरूको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नेता निधिले प्रदेशस्तरीय निजामती कर्मचारी र प्रहरीको समायोजन छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले संविधान संशोधनले यो प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत सुदृढीकरण र गणतन्त्रलाई थप बलियो बनाउन नवनिर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो। उहाँका अनुसार सञ्चारजगत् लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकाले यस क्षेत्रको सुदृढीकरणले समग्र देशको विकासमा योगदान पुर्याउँछ।
कार्यक्रममा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले नेपाल पत्रकार महासङ्घको सबै तहका निर्वाचित पदाधिकारीहरूको स्वागत गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री रामकृष्ण यादव, मधेश प्रदेशका पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, र नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments