रौतहटमा चोरी प्रकरण: चार जना पक्राउ

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस १८ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ निवासी अच्छेलाल साहको घरमा बुधबार राति चोरी भएको छ। चोरहरूले सुरुङ खनेर घरभित्र प्रवेश गरी पाँचवटा मोबाइल, गरगहना, नगद २ लाखसहित कुल ५ लाखभन्दा बढीको सामान चोरेका थिए।

चोरीपछि गाउँका युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा चोरहरूको खोजी गरे। लोकेसन पछ्याउँदै जाँदा फतुवा गाउँछेउको मठ नजिक चार जना फेला परेका थिए। उनीहरूको साथबाट चोरी भएको सबै सामान बरामद भएपछि युवाहरूले चोरहरूलाई इलाका प्रहरी कार्यालय विजयपुरमा बुझाएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, पक्राउ परेका चार जनामा वर्ष ६५ का रामायण नट, वर्ष ६० का लक्ष्मण नट, वर्ष ३५ का मनोज नट, र वर्ष ३४ का सुनिल नट रहेका छन्। केही समयदेखि फतुवा विजयपुर–७ मा त्रिपाल टाँगेर सपरिवार बस्दै आएका यी व्यक्तिहरू दिनभर गाउँगाउँमा भिख माग्दै हिँड्ने घुमन्ते समूह भएको स्थानीयहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?