मधेश प्रदेश सरकारले अघि बढायो छोरी छात्रवृत्ति योजना
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस १८ गते । मधेश प्रदेश सरकारले अति विपन्न र सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा सहभागी गराउन "छोरी छात्रवृत्ति योजना" अघि बढाएको छ। दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई लक्षित गरी सुरु गरिएको यस योजनाले महिलाको शिक्षामा पहुँच बढाउन महत्वपूर्ण योगदान गर्ने प्रदेश सरकारको विश्वास छ। मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, मन्त्रिपरिषद्बाट निर्णय भई अघि बढेको यो कार्यक्रम प्रदेशका शिक्षा निर्देशनालयमार्फत कार्यान्वयन हुँदैछ।
प्रदेशका आठवटै जिल्लाका लागि छात्रवृत्ति योजनामा चार समूहमा विभाजन गरिएको छ। यस योजनाका लागि दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राहरूले आवेदन दिएका छन्। गत मङ्सिरमा सार्वजनिक सूचना मार्फत १,०७१ आवेदन प्राप्त भएको र अहिले छनौट प्रक्रिया सुरु भएको निर्देशनालयका निमित्त प्रमुख ठूलोबाबु दाहालले जानकारी दिए। दाहालका अनुसार, जनसङ्ख्याको अनुपात र अन्य मापदण्डलाई ध्यानमा राखी ६ सय छात्रा छनौट गरिनेछ।
छात्रवृत्ति योजनाअन्तर्गत साधारण (मानविकी, वाणिज्य, शिक्षा) धारका लागि वार्षिक २५ हजार र प्राविधिक धारतर्फ ३५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिनेछ। छानिएका छात्राको बैंक खातामा सो रकम जम्मा गरिने व्यवस्था गरिएको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले रु १ करोड ५० लाख विनियोजन गरेको शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले बताइन्। यस कदमले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएकाहरूलाई सहयोग पुर्याउने विश्वास लिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments