मधेस प्रदेशमा दृष्टिविहीन विद्यालय स्थापना गर्न मुख्यमन्त्रीको प्रतिबद्धता

19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस ९ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आश्रययुक्त विद्यालय निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा सघाउने बताएका छन्। जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका दृष्टिविहीनहरूको समूहसँगको भेटमा उनले विद्यालय स्थापनाका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनको योजना अघि सार्नुपर्ने धारणा राखे।

मुख्यमन्त्री सिंहले दृष्टिविहीनको कल्याणका लागि स्थानीय सरकार र स्वयंसेवी संस्थासँग समन्वय गर्ने आश्वासन दिए। भेटका क्रममा दृष्टिविहीन समूहले अघिल्ला प्रदेश सरकारहरूबाट आफूहरूको बास र शिक्षा व्यवस्थापनको गुनासो गर्दै समस्या समाधानका लागि आग्रह गरेका थिए।

मुख्यमन्त्री सिंहले जनकपुरधाममा गुठीको जग्गा प्राप्त गर्न कठिनाइ रहेको जनाउँदै तत्काल अपांगता भएका व्यक्तिहरूका लागि सञ्चालित कुनै संस्थाको भवनमा विद्यालय सञ्चालन गर्ने विकल्प अपनाउन सकिने बताए। दृष्टिविहीनहरूको लागि शिक्षा र आश्रय सुनिश्चित गर्न प्रदेश सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?