भारतीय लुटेरा सिरहा प्रहरीले पक्राउ गरे
5 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस २ गते । सिरहा प्रहरीले नेपाल-भारतको सीमावर्ती क्षेत्रमा लुटपाट गरी फरार रहेका भारतीय अपराधी आरिफ खान (आरिफ हुसेन) लाई पक्राउ गरेको छ। सिरहा नगरपालिका-१७ माडरको दसगजा नजिक गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई मंसिर २९ गते बिहान नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार आरिफ विभिन्न अंगमा चोटपटक लागेर घाइते अवस्थामा फेला परेका थिए। उपचारका लागि सिरहा प्रादेशिक अस्पतालमा भर्ना गरिएपछि थप अनुसन्धान र कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको डिएसपी बिरेन्द्रकुमार पासवानले जानकारी दिए।
डिएसपी पासवानका अनुसार आरिफ २०८० जेठ १६ मा महोत्तरी गाउँपालिका-२ स्थित एनएमबी बैंकबाट ३८ लाख रुपैयाँ लुटपाट गरेको समूहमा संलग्न थिए। त्यस्तै, २०७९ फागुन १० मा सिरहाको कल्याणपुरस्थित ग्लोबल आईएमई बैंकका कर्मचारीलाई लक्षित गरी मिर्चैया नगरपालिका-३ बताहा पुल नजिक ९ लाख रुपैयाँ लुटिएको घटनामा पनि उनको संलग्नता रहेको पाइएको छ। भारतको बिहार राज्य, मधुवनी जिल्लामा समेत आरिफविरुद्ध हतियारसहित लुटपाटका मुद्दा दर्ता छन्। उनलाई पक्राउ गर्न भारतीय प्रहरीले २५ हजार रुपैयाँ पुरस्कारको घोषणा समेत गरेको थियो।
कमेन्ट गर्नुहोस्
view comments