विश्वप्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको निधन

6 दिन पहिले प्रकाशित

एजेन्सी, 

नयाँ दिल्ली, पुस १ गते । पद्मविभूषण सम्मान प्राप्त विश्वप्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा निधन भएको छ। उनका परिवारले सोमबार बिहान यस दु:खद खबरको पुष्टि गरेका छन्। जाकिर हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस (फोक्सोसम्बन्धी दुर्लभ रोग) बाट पीडित थिए र पछिल्लो दुई हप्तादेखि सान फ्रान्सिस्कोको अस्पतालमा उपचाररत थिए। स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई आईसीयूमा राखिएको थियो, जहाँ उनले अन्तिम श्वास फेरे।

१९५१ मार्च ९ मा मुम्बईमा जन्मिएका जाकिर हुसैन तबलाको क्षेत्रमा विश्वव्यापी प्रभाव राख्ने कलाकार थिए। उनका पिता उस्ताद अल्लाहराखा पनि तबलाका दिग्गज कलाकार थिए। जाकिरले सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्मविभूषण प्राप्त गरे। सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम 'लिभिङ इन द मटेरियल वर्ल्ड' सार्वजनिक गरेका थिए। चार पटक ग्रामी अवार्ड विजेता हुसैनले ११ वर्षको उमेरमै अमेरिकामा पहिलो कन्सर्ट गर्दै आफ्नो बहुआयामिक प्रतिभा देखाएका थिए। उनको निधनले विश्व संगीत जगतलाई गहिरो क्षति पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?