मधेश प्रदेशमा पर्यटकको सवारी आवागमनमा कुनै अवरोध छैन: मन्त्री मियाँ
7 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ३० गते । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले प्रदेशमा पर्यटक सवार सवारी साधनको आवागमनमा कुनै अवरोध नरहेको स्पष्ट पार्नुभएको छ। शनिबार वीरगन्जमा आयोजित "पर्यटक सुरक्षा र प्रवर्द्धनमा पर्यटकको भूमीका" विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मियाँले भारतीय सिमानासँग जोडिएको मधेश प्रदेशमा पर्यटकलाई दुःख दिने जस्ता कार्यहरू भ्रम फैलाउन गरिएको दाबी गर्नुभयो। उहाँले मधेश प्रदेशमा रहेका पर्यटकीय स्थलहरूको ठूलो सम्भावनाबारे चर्चा गर्दै, प्रदेश सरकारले संघीय सरकारसँग मिलेर ती स्थलहरूको पहिचान र विकासमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो।
कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आर्चायले नियतबस भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा कुनै अवरोध नगर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले खुला सिमानाका कारण केही सुरक्षा चुनौती देखिए पनि, पर्यटक बोकेका सवारी साधनलाई कुनै पनि किसिमको असुविधा नहुने सुनिश्चित गर्न व्यक्तिगत रूपमा निगरानी गरिरहेको बताउनुभयो। कार्यक्रममा, होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले मधेश प्रदेशलाई पर्यटन मैत्री बनाउन तीन तहका सरकारबीच समन्वय र सहयोगको खाँचो रहेको सुझाव दिनुभयो।
कमेन्ट गर्नुहोस्
view comments