रौतहटको दुर्गाभगवतीमा आमा-छोराको हत्या प्रकरण: ४ वर्षपछि अभियुक्त पक्राउ

26 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १२ गते ।  रौतहटको दुर्गा भगवती गाउँपालिकामा आमा-छोराको हत्या गरी शव जलाएर फरार रहेका एक व्यक्ति घटनाको चार वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुर्गाभगवती–४ छतौनाका ४८ वर्षीय महमद जनिफ रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार जनिफलाई दुर्गाभगवती गाउँपालिकाको पिपरा बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ।

२०७७ वैशाख ११ गते राति, समरुदिन मियाँ कवारीकी २२ वर्षीया श्रीमती हुस्नेयारा खातुन र उनका दुई वर्षीय छोरा रेहानको हत्या गरी जनिफले शव मसुरोको भुसमा जलाएका थिए। घटनास्थल नजिकै ३०० मिटरको दुरीमा छोरा रेहानको कङ्काल फेला परेको थियो। वारदातपछि फरार रहेका जनिफलाई प्रहरीले लामो खोजीपछि नियन्त्रणमा लिएको हो। घटनामा संलग्न अन्य विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?