जनमत पार्टीका नेताहरू जसपामा प्रवेश, पार्टी सुदृढीकरणमा योगदानको अपेक्षा

27 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ११ गते । जनमत पार्टीका केन्द्रीय सचिव र पर्सा जिल्ला सह–इन्चार्ज मुकेश द्विवेदी, जिल्ला सचिव शशी पाण्डेसहितका नेताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। आइतबार वीरगन्जमा आयोजित विशेष कार्यक्रममा नेपाल सरकारका खानेपानी मन्त्री र जसपाका केन्द्रीय उपमहासचिव प्रदीप यादवले उनीहरूलाई पार्टीमा स्वागत गरे। नवप्रवेशीहरूमा वीरगन्ज महानगरपालिका कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी, र वीरगन्ज महानगरपालिका–१ का एकाइ सभापति चन्दन साह कानु पनि सामेल छन्।

मन्त्री यादवले पार्टी प्रवेशलाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गर्दै, नवप्रवेशीहरूका कारण पार्टीको संगठन थप सुदृढ र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। जसपाको विचारधारालाई आत्मसात् गर्दै पार्टी प्रवेश गर्नेहरूको सक्रियताले समृद्ध नेपाल निर्माणको परिकल्पनालाई साकार पार्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। नवप्रवेशीहरूलाई धन्यवाद दिँदै मन्त्री यादवले जनताको भावना सम्बोधन गर्दै अघि बढ्न सबैलाई आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?