गुगल म्यापको भरमा यात्रा गर्दा भारतमा तीन जनाको ज्यान गयो

27 दिन पहिले प्रकाशित

एजेन्सी, मङ्सिर १० । पछिल्लो समय नयाँ ठाउँ वा यात्रा गर्ने बाटो पत्ता लगाउन गुगल म्यापको प्रयोग व्यापक हुँदै गएको छ। तर भारतको उत्तर प्रदेशमा गुगल म्यापको निर्देशनका कारण दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। रामगंगा नदीमा पुल भाँचिएको भाग अद्यावधिक नभएका कारण शनिबार राति कार पुलबाट खस्दा बरेली र बदायुं सीमामा तीन जनाको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार, बरेलीबाट बदायुंको दातागञ्जतर्फ गइरहेको कार तीव्र गतिमा थियो। इलाका अधिकारी आशुतोष शिवमले बताएअनुसार, यस वर्षको बाढीले पुलको आधा भाग बगाएको थियो, तर जीपीएसमा त्यो जानकारी समावेश गरिएको थिएन। पुलको भाँचिएको भाग थाहा नपाई तीव्र गतिमा अघि बढेको कार करिब २५ फिट तल नदीमा खस्दा चालकसहित तीनै यात्रुको घटनास्थलमै ज्यान गएको हो। यस घटनाले डिजिटल म्यापको भरपर्दा सतर्कता आवश्यक रहेको सन्देश दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?