श्रीलंकामा एनपीपीको सरकार गठन, हरिनी अमरसुरिया पुनः प्रधानमन्त्री नियुक्त

1 महीना पहिले प्रकाशित

एजेन्सी, मंसिर ४ गते । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शिक्षाविद् हरिनी अमरसुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका छन्। नेशनल पिपुल्स पावर (एनपीपी) पार्टीले गत साता सम्पन्न संसदीय चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि सोमबार नयाँ मन्त्रिपरिषद् गठन गरिएको हो। २१ सदस्यीय मन्त्रिपरिषद्का सदस्यहरूले राष्ट्रपति दिसानायकेसमक्ष शपथ लिएका छन्।

नोभेम्बर १४ मा सम्पन्न संसदीय चुनावमा एनपीपीका १५९ सांसद निर्वाचित भए, जसले समानुपातिक प्रणालीमा दुई तिहाइ बहुमत हासिल गर्ने पहिलो पार्टीको रूपमा इतिहास रचेको छ। नवनियुक्त प्रधानमन्त्री अमरसुरियाले शिक्षा र व्यावसायिक तालिम मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन् भने राष्ट्रपति दिसानायकेले अर्थ मन्त्रालय आफैं व्यवस्थापन गर्नेछन्। अन्य महत्वपूर्ण मन्त्रालयमा विजिता हेराथ (विदेश मामिला, रोजगार, पर्यटन), आनन्द विजेपाल (जनसुरक्षा, संसदीय मामिला), र विमल रथ्नायके (यातायात, राजमार्ग, बन्दरगाह, नागरिक उड्डयन) नियुक्त भएका छन्।

राष्ट्रपति दिसानायकले जनताले एनपीपीमा देखाएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ सरकारले देशको राजनीतिक र आर्थिक मार्गमा सुधार ल्याउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यो कदमले श्रीलंकामा स्थायित्व र विकासका लागि नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?