स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता सुरु
1 महीना पहिले प्रकाशित
काठमाडौँ, २ मंसिर। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ।
आज बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। उम्मेदवारहरूले सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयनपत्र दर्ता गर्न सक्नेछन्, निर्वाचन आयोगकी सहसचिव तथा प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिएकी छिन्।
आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ। सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ।
मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments