मधेस प्रदेशमा स्टार्टअप कार्यक्रमको प्रभाव: रोजगारी सिर्जना र महिलाहरूलाई उद्यमितामा प्रोत्साहन

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २५ गते ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बीरगन्जमा आयोजित स्टार्टअप सम्मेलनको उद्घाटन गर्दै मधेस प्रदेशबाट रोजगारीका लागि विदेश जाने युवालाई स्वदेशमै अवसर दिन स्टार्टअप कार्यक्रम सहायक हुने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री सिंहले संघीय सरकारको यो कार्यक्रम समयानुकूल रहेको र यसले स्थानीय युवा शक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने बताउनुभयो। साथै, उद्योगी र व्यापारीहरूको योगदानले कार्यक्रमलाई अझ सफल बनाउन महत्त्वपूर्ण हुने पनि उहाँले उल्लेख गर्नुभयो।

महिला सशक्तीकरणका लागि स्टार्टअप कार्यक्रमलाई प्रमुख योजना बनाउन मुख्यमन्त्री सिंहले सुझाव दिनुभएको छ। उहाँले युवाहरूको विदेश पलायनले महिलाहरू घरमै सीमित हुने अवस्था रहेको र यसै कार्यक्रममार्फत महिलाहरूलाई घरेलु उद्योग तथा हस्तकलामा संलग्न गराउन सकिने बताउनुभयो। यो कार्यक्रममा प्रदेश सरकारको पनि समर्थन रहने र महिलाहरूलाई उद्यमितामा संलग्न गराए रोजगार सिर्जना हुने उहाँको धारणा थियो।

सम्मेलनमा बीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह र गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरियाले युवा उद्यमितालाई प्रोत्साहन गर्न स्टार्टअप कार्यक्रमको प्रभावकारिता उल्लेख गरे। उद्योगी व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले सरकारले स्टार्टअपका लागि अर्बौं बजेट विनियोजन गरेको र सहुलियत दरमा ऋण उपलब्ध गराउने जानकारी दिनुभयो। कार्यक्रममा सहभागी झन्डै ४५० युवा उद्यमी र विद्यार्थीलाई स्टार्टअपको लाभ र अवसरबारे जानकारी गराइयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?