बजेट अभावमा मधेस कृषि विश्वविद्यालयको भवन निर्माण प्रभावित

2 महीना पहिले प्रकाशित

 

काठमाडौं, कार्तिक १२ गते ।  मधेस कृषि विश्वविद्यालयको भवन निर्माण कार्य बजेट अभावका कारण अवरुद्ध भएको छ। राजविराजबाट सात किलोमिटरको दुरीमा रहेको कृषिनगरको २६.५ बिघा जग्गामा विश्वविद्यालयको भवन निर्माण गर्न १ अर्ब रुपैयाँ लागतमा ठेक्का लागेको थियो। १२ भवनमध्ये पाँचको जग पूरा भइसकेको र केही भवनको दोस्रो तलासम्मको ढलानसमेत सम्पन्न भइसकेको भए पनि बजेटको अभावमा निर्माण कार्य रोकिएको छ। शनिबार मधेस प्रदेशका शिक्षामन्त्री रानी शर्माले विश्वविद्यालयको निरीक्षण गरेकी थिइन्, जहाँ निर्माण कम्पनीले दशैँको समयमा पनि भुक्तानी नपाएको गुनासो गरेपछि उनले बजेटको व्यवस्था हुने आश्वासन दिएकी छन्।

बजेट अभावले निर्माण कार्यमा समस्या उत्पन्न हुँदा ठेकेदार कम्पनीले मजदुर कटौती गरेको छ भने आगामी तिहार र छठ पर्वसम्म पनि भुक्तानी नपाए काम छोड्न चेतावनी दिएको छ। ठेकेदारले दुई किस्ता रकम नपाएको र विश्वविद्यालयलाई यस वर्ष प्रदेश सरकारले मात्र १० लाख रुपैयाँ बजेट विनियोजन गरेकोले प्रशासनिक खर्च समेत धान्न नसकिने गुनासो गरिएको छ। शिलान्यासमा भएको विवादले निर्माणमा ढिलाइ भएको र बजेट कटौतीको कारण मधेस प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टीले विश्वविद्यालयलाई बजेट रोकेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?