घरमै पसेर बाबुछोरामाथि आक्रमण, १० लाखको धनमाल लुटपाट

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, असोज २० गते ।  महोत्तरीको सम्सी गाउँपालिका–६ निवासी ६० वर्षीय शेषहाजी जहुरको घरमा शनिबार मध्यराति नकाबधारीहरूको समूहले आक्रमण र लुटपाट गरेको छ। रातको करिब १२ बजे, १० जनाको समूहमा आएका नकाबधारीहरूले शेषहाजी र उनका छोरा २५ वर्षीय अतहरमाथि रडले प्रहार गरी घाइते बनाउँदै कोठामा थुनेर लुटपाट गरेका हुन्।

लुटपाटको क्रममा घरमा रहेका शेषहाजीका छोरी र नातिनीहरूलाई समेत नियन्त्रणमा राख्दै घटना सार्वजनिक गरेमा ज्यान मार्ने धम्की दिइएको थियो। यस क्रममा लगभग १० लाख रुपैयाँ बराबरको गरगहना र नगद लुटिएको छ।

घटनापछि स्थानीयको सहयोगमा घाइतेहरूलाई नजिकैको जानकी एकेडेमिक अस्पतालमा पुर्‍याइएको छ, जहाँ उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारका अनुसार प्रहरी घटनास्थलमा पुगेको र लुटेरा समूहको पहिचानका लागि गम्भीर अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?