मधेश प्रदेशको स्वच्छता र खानेपानीको स्थिति अत्यन्तै दयनीय: मन्त्री यादव

3 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, असोज ९ गते । मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले प्रदेशको स्वच्छता र खानेपानीको अवस्था देशभरमै सबैभन्दा दयनीय रहेको बताउनुभएको छ। बुधबार बर्दिबासमा आयोजित ‘खानेपानी, सरसफाइ, र स्वच्छता योजना निर्माण गोष्ठी’मा मन्त्री यादवले मधेश प्रदेशमा दिगो विकासको लक्ष्यप्राप्तिका लागि यो संकट बाधक भएको जनाउनुभयो।

यादवले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई उद्धृत गर्दै प्रदेशमा ७२९ घरपरिवारले अझै पनि असुरक्षित नदीनाला, करिब २२ हजारले कुवा-इनार, र ८४ हजार घरपरिवारले सार्वजनिक धाराबाट पानी लिने अवस्था रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सप्तरी, सिरहा, र जनकपुरका कैयौं घरधुरी असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्।

मन्त्री यादवले अझै पनि १ लाख ३९ हजार घरपरिवार शौचालयविहीन रहेको र प्रदेशको राजधानी धनुषामा मात्र २२ हजार परिवार खुला स्थानमा शौच गर्न बाध्य रहेको उल्लेख गर्दै यस स्थितिलाई सुधार्न प्रभावकारी योजना बनाउन स्थानीय तहलाई आग्रह गर्नुभयो।

गोष्ठीमा सहभागी २५ पालिकाहरूले फागुन मसान्तसम्म ‘वास प्लान’ तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साझेदार संस्थाहरूको सहयोगमा अन्य १३६ पालिकाहरूमा पनि योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?