आर्थिक सुधारदेखि स्वास्थ्यसेवा विस्तारसम्म: मधेश प्रदेशको १०० दिनका महत्वपूर्ण उपलब्धिहरू

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, असोज ९ गते । मधेश प्रदेश सरकारले आफ्नो १०० दिनको कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको आर्थिक, सामाजिक, खेलकुद, शिक्षा, कृषि, स्वास्थ्य र श्रम बजारमा देखिएको सुधारका पहलहरू प्रस्तुत गरे।

मुख्यमन्त्री सिंहले श्रम बजार सुधारका लागि २०० कम्पनी लक्षित व्यापक सर्वेक्षण गरेको जानकारी दिँदै, बेरोजगार जनशक्तिलाई आवश्यक तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने कार्य भइरहेको बताए। यातायात क्षेत्रको सुधार, सवारीचालक अनुमतिपत्र समस्या समाधान, र सवारी साधन अभिलेखको डिजिटलाइजेसनले सेवाहरूलाई छरितो र प्रभावकारी बनाएको उल्लेख गरियो।

कमला नदीले बगर बनाएको १५ हजार बिघा जमिनलाई कृषिमा प्रयोग गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदै गरेको र १ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको समयमै वितरणले ५० हजार भन्दा बढी किसानलाई लाभ पुगेको सिंहले दाबी गरे।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार पार्ने र खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउने योजनासहित खेलाडी र प्रशिक्षकहरूको प्रोफाइल तयार पारिएको छ।

स्वास्थ्य क्षेत्रमा मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ३०० बेड थप गरी एमबिबिएस कार्यक्रमका लागि ५० सिट आरक्षित गरिएको छ भने विभिन्न अस्पतालहरूमा उपकरण वितरण र स्तरोन्नतिका लागि ४०० भन्दा बढी नयाँ दरबन्दी सिर्जना गरिएको छ।

व्यापार व्यवसाय प्रवर्द्धनका लागि विद्येयक २०८० तयार पार्न लागिएको र बजार अनुगमन निर्देशिका निर्माण गरी उपभोक्ता हित सुनिश्चित गर्न घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्न सीप विकास तालिम सञ्चालन गरिएको छ।

प्रदेश सरकारले वातावरण संरक्षणका लागि ८७५ हेक्टर क्षेत्रमा वृक्षारोपण गरेको र एक निर्वाचन क्षेत्र, एक पक्की पुल निर्माण योजना अघि बढाएको जानकारी पनि सार्वजनिक गरियो।

हेर्नुहोस् उपलब्धिको पूर्णपाठ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?