प्रधानमन्त्री ओलीद्वारा क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता
3 महीना पहिले प्रकाशित
एजेन्सी,
न्युयोर्क, असोज ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीलाई भेटेका प्रवासी नेपाली मञ्च र अन्य नेपाली समुदायका संगठनहरूले सो क्षेत्रका नेपालीहरूको सुविधाका लागि महावाणिज्यदूतावास खोल्न आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै यसबारे नेपाल सरकारले चाँडै निर्णय गर्ने आश्वासन दिएका हुन्।
क्यालिफोर्नियामा करिब एक लाख नेपालीको बसोबास रहेको र हाल नेपालका महावाणिज्यदूतावासहरू न्युयोर्क वा वासिङ्टन डिसीमा मात्र रहेको हुँदा नेपालीहरूले आवश्यक सेवा पाउनका लागि लामो दूरी तय गर्नुपर्ने चुनौती रहेको छ। नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्निया लगायतका संस्थाहरूले सानफ्रान्सिस्कोमा महावाणिज्यदूतावास खोल्न माग गरेका थिए।
महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवाहरूमा नेपाली समुदायलाई सहजता प्रदान हुने विश्वास छ। प्रधानमन्त्री ओलीले उक्त मागप्रति सकारात्मक रहेको जनाउँदै, ‘तपाईंहरू ढुक्क हुनुस्, हामीले क्यालिफोर्नियामा महावाणिज्यदूतावास खोल्ने योजना बनाइसकेका छौँ,’ भनेका छन्।
सिलिकन भ्याली र विज्ञान-प्रविधिको केन्द्रका रूपमा रहेको क्यालिफोर्नियामा महावाणिज्यदूतावास खुलेमा नेपालले व्यापारिक र प्रविधिगत लाभ लिनसक्ने पनि नेपाली समुदायका संस्थाहरूको धारणा छ।
कमेन्ट गर्नुहोस्
view comments