यागी चक्रवातले दक्षिणपूर्वी एसियामा ६० लाख बालबालिका प्रभावित
एजेन्सी,असोज २ गते । युनिसेफले जनाएको छ कि चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएका छन्। दुई हप्ता अघि यागीले भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो।
थाइल्यान्डले बुधवार थप तीन जनाको मृत्यु पुष्टि गरेसँगै यस क्षेत्रमा कुल ५३७ जनाको मृत्यु भएको छ। युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँचको आधारमा प्रभावित बालबालिकाको सङ्ख्या सार्वजनिक गरेको हो।
युनिसेफका पूर्वी एसिया प्रशान्त क्षेत्रीय निर्देशक जुन कुनुगीले कमजोर बालबालिका र परिवारहरूले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य भएको बताएकी छिन्।
भियतनाममा पिउने पानी र सरसफाइको अभावका कारण करिब ३० लाख मानिस रोगको उच्च जोखिममा रहेको छ भने म्यानमारमा बाढीले करिब चार लाख मानिसलाई विस्थापित गरेको छ।
यागीले म्यानमारमा गम्भीर मानवीय अवस्था निम्त्याएको र विशेष गरी सीमान्तकृत समुदायहरूलाई संकटमा पारेको युनिसेफले उल्लेख गरेको छ। विश्व खाद्य कार्यक्रमले पनि म्यानमारमा पाँच लाख मानिसलाई एक महिनाको लागि आपतकालीन खाद्यान्न वितरण गर्ने जनाएको छ।
युनिसेफका अनुसार जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई गम्भीर असर पुर्याइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments