अमेरिकाले राष्ट्रपति मदुरोको विमान कब्जा गरेको भेनेजुएलाको आरोप
4 महीना पहिले प्रकाशित
एजेन्सी,भदौ १८ गते । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान अमेरिकाले कब्जा गरेको दाबी गरेको छ। अमेरिकाले उक्त विमान गैरकानुनी रूपमा किनिएको र तस्करीमा प्रयोग भएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
अमेरिकी न्याय विभागका अनुसार, फालकोन ९०० ईएक्स विमानलाई डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएर फ्लोरिडामा स्थानान्तरण गरिएको छ। तर, विमान कहिले र कसरी नियन्त्रणमा लिइयो भन्ने बारेमा विस्तृत जानकारी उपलब्ध गराइएको छैन। यद्यपि, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विमान सोमबार ला इसाबेल विमानस्थलबाट फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलमा पुगेको प्रमाण फेला पारेका छन्।
भेनेजुएलाले अमेरिकाको यस कदमलाई डकैती भन्दै निन्दा गरेको छ। भेनेजुएलाको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो एकतर्फी र गैरकानुनी कदमलाई पुष्टि गरेको आरोप लगाउँदै संसारभर जबर्जस्ती गतिविधि थोपरेको बताएको छ। भेनेजुएलाले यस घटनामा कानुनी उपाय खोज्ने पनि विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
अमेरिकी अधिकारीहरूले भने उक्त विमानले अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्ध सम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको स्पष्ट पारेका छन्। साथै, मदुरोसँग सम्बद्ध व्यक्तिहरूले २०२२ को अन्त्यदेखि २०२३ को सुरुवातसम्म फ्लोरिडाको एक कम्पनीबाट विमान अवैध रूपमा किन्ने प्रयास गरेको र सो गतिविधि लुकाउन सेल कम्पनीको प्रयोग गरेको आरोप पनि लगाएका छन्।
अमेरिकाले उक्त विमान २०२३ मा क्यारेबियन देश हुँदै अवैध रूपमा भेनेजुएला निर्यात गरिएको दाबी गरेको छ। भेनेजुएला र अमेरिकाबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ, र मदुरो अमेरिकाको कट्टर विरोधी नेताका रूपमा चिनिन्छन्।
कमेन्ट गर्नुहोस्
view comments