चीनबाट आयात हुने स्टिल र आल्मुनियममा २५% अतिरिक्त महसुल

4 महीना पहिले प्रकाशित

एजेन्सी

ओट्टावा,भदौ ११ गते ।  क्यानडाले चीनबाट आयात हुने विद्युतीय सवारी साधन (ईभी) मा शतप्रतिशत भन्सार कर लागू गर्ने निर्णय गरेको छ। यो कदम अमेरिका र युरोपेली संघ (ईयू)ले चिनियाँ ईभीमा अतिरिक्त महसुल लगाएको निर्णयको अनुसरण गर्दै आएको हो। क्यानडाले उक्त कर आगामी अक्टोबर १ देखि लागू गर्नेछ भने, चीनबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत अतिरिक्त महसुल अक्टोबर १५ देखि लागू हुनेछ।

चीनले आफ्ना ईभी उद्योगलाई अनुदान दिएर अनुचित फाइदा उठाइरहेको आरोप क्यानडा र उसका पश्चिमी मित्र राष्ट्रहरूले लगाएका छन्। क्यानडाको यो कदमलाई चीनले व्यापार संरक्षणवादको संज्ञा दिँदै, विश्व व्यापार संगठनका नियमहरूको उल्लङ्घन भएको बताएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनजस्ता देशहरूले विश्वव्यापी बजारमा अनुचित फाइदा लिइरहेको आरोप लगाउँदै, क्यानडाको अटोमोटिभ क्षेत्रलाई अग्रणी बजार बनाउन काम गरिरहेको बताए। यस अतिरिक्त महसुलले अमेरिकी ईभी निर्माता कम्पनी टेस्लाको चीनको सांघाईस्थित कारखानामा उत्पादन हुने ईभीमा पनि प्रभाव पार्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?