अस्पतालको सेवा सुधारमा जोड: मुख्यमन्त्री सिंहद्वारा जनशक्ति व्यवस्थापन र औषधि उपलब्धतामा ध्यान

4 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ ९ गते ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा भइरहेको ढिलासुस्ती र हेलचेक्र्याइँको गुनासो आएपछि शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको आकस्मिक निरीक्षण गरे।मुख्यमन्त्री सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, प्रसूति गृह, र अति सघन कक्षसहित विभिन्न विभागहरूको निरीक्षण गर्दै ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग जनशक्ति व्यवस्थापन, कार्यविभाजन, र काम गर्ने अवधिबारे जानकारी लिए।

निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए। उनले बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरवाही नगर्न कडा निर्देशन पनि दिएका छन्।मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक औषधिको आपूर्तिमा कुनै कमी हुन नदिन र सूचीअनुसार औषधिको उपलब्धता सुनिश्चित गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। निरीक्षणका क्रममा उनले बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवा सुविधाबारे जानकारी लिएका थिए।

रातको समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखको कमी, र अस्पतालभित्रका फार्मेसीमा औषधिको अभावबारे केही कुरुवाहरूको गुनासो प्राप्त भएपछि, मुख्यमन्त्री सिंहले त्यहाँ उपस्थित प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिए।अस्पतालमा बिरामीको चाप बढ्दै गइरहेका बेला भौतिक पूर्वाधार, उपकरण, र जनशक्ति थपिँदै गएको बताउँदै, मुख्यमन्त्री सिंहले प्रदेश सरकार अस्पतालमा विद्यमान समस्या समाधान गर्दै उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविधिकरण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?