शिक्षा ऐन कार्यान्वयनको माग गर्दै मधेसमा शैक्षिक हडतालको चेतावनी, विद्यालय बन्दको संकेत
4 महीना पहिले प्रकाशित
रौतहट,भदौ ५ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसमा विद्यार्थीहरूको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरू बन्द गर्ने चेतावनी दिएका छन्। रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै साहले सरकार मधेसमा विद्यार्थीहरूको चापलाई बेवास्ता गर्दै शिक्षकहरूको आवश्यक व्यवस्था गर्न असफल भएको बताए। उनले सरकारलाई पटक-पटक ध्यानाकर्षण गराए पनि सरकार गम्भीर नदेखिएको आरोप लगाए। उनले भने, 'यदि सरकारले तत्काल विद्यार्थीहरूको अनुपातमा शिक्षकहरूको व्यवस्था नगरे हामी बाध्य भएर विद्यालयहरू बन्द गरी शैक्षिक हडतालमा उत्रिनेछौं।' साहले सिंहदरबार मधेसलाई समृद्ध बनाउन नचाहेको र मधेसवादी नेताहरू लुटतन्त्रमा लागेको आरोप लगाए। शिक्षा ऐनको मापदण्डअनुसार मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने भए पनि सरकार त्यसलाई कार्यान्वयन गर्न असफल रहेको उनले बताए। यसै सन्दर्भमा, रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले केही समयअघि शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए पनि कुनै पहल नभएको बताए। कार्यक्रमको अध्यक्षता आजपाका स्थानीय नेता सैतूलाहले गरेका थिए भने कार्यक्रममा आजपाका उपाध्यक्ष सामिना हुसेन, महासचिव त्रिभुवन साह, र स्थायी कमिटी सदस्यहरूको विशेष सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments