जसपाको संगठन विस्तार अभियान: २१५ केन्द्रीय सदस्यहरू देशभर परिचालन
4 महीना पहिले प्रकाशित
जनकपुरधाम, साउन ३१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई संगठन विस्तार अभियानमा सक्रिय रूपमा परिचालन गरेको छ। ललितपुरमा चार दिनसम्म चलेको बैठकमा पार्टीका केन्द्रीय नेताहरूलाई आधारभूत संगठन निर्माण अभियानमा खटाउने निर्णय गरिएको पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए। जसपा नेपालले प्रमुख शहरहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। बस्नेतका अनुसार, 'पार्टीका २१५ केन्द्रीय सदस्यहरूलाई देशभरिका विभिन्न पालिका समितिहरूमा अभियन्ताका रूपमा खटाइएको छ।
अभियानको उद्देश्य प्रत्येक स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ, नगर, प्रदेशसभा, र संघीय निर्वाचन क्षेत्रहरूमा संगठनको सञ्जाल विस्तार गर्नु हो।' यस अभियानको नेतृत्व केन्द्रीय समितिले गर्नेछ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई अभियानको अनुगमनको जिम्मेवारी दिइनेछ। तोकिएका अभियन्ताहरूका लागि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिने भएको छ। केन्द्रीय सदस्य बस्नेतका अनुसार, अभिमुखीकरण कार्यक्रम विराटनगरमा भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौंमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भदौ २५ गते, र टीकापुर तथा धनगढीमा भदौ २५ गते आयोजना गरिनेछ। यस अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्य, अभियन्ता, केन्द्रीय निकाय र विभागका प्रमुख तथा सदस्यहरू, प्रदेश र राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला तथा पालिकाका पदाधिकारीहरू, जनप्रतिनिधि, र जनसंगठनका पदाधिकारीहरूको सहभागिता रहनेछ। यो अभियान भदौदेखि सुरु भएर मंसिर मसान्तसम्म सञ्चालन हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments