जनकपुरधाम, साउन ३१ गते । स्विस विकास तथा सहयोग नियोग (एसडीसी) नेपालले मधेश प्रदेश सरकारका विभिन्न योजनाहरूको कार्यान्वयनमा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ। मुख्यमन्त्री सतिशकुमार सिंह र एसडीसीका अधिकारीहरूबीचको भेटमा, अधिकारीहरूले प्रदेश सरकारसँग अल्पकालीन र दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा सहकार्य गर्न सकिने बताउँदै, प्रदेशमा हाल सञ्चालन भइरहेका कार्यक्रमहरूलाई थप प्रभावकारी र व्यापक बनाउने प्रतिबद्धता जनाए। मुख्यमन्त्री सिंहले डेपुटी चिफ अफ मिसन म्याथियास मेयरलगायतका अधिकारीहरूलाई मधेशमा सिँचाइ लगायत बहुआयामिक परियोजनाहरूको विकासका लागि नदी जोड्ने र नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा संघीयता विषयको अध्ययन-अध्यापन, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई सीप अभिवृद्धि तथा उद्यमशीलता प्रवर्द्धन, पूर्ण साक्षरता हासिल गर्ने, सूचना प्रविधिको विकास तथा व्यावसायीकरणमा सहयोगको आवश्यकता रहेको बताउँदै विशेष ध्यानाकर्षण गराए।
मुख्यमन्त्री सिंहले आँप र केरालगायत खेतीको प्रवर्द्धन, सहउत्पादनका लागि प्रविधि हस्तान्तरण, र त्यसको प्रभावकारी उपयोगको लागि पनि सहयोगको माग गरे। यस अवसरमा डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले, एसडीसीमार्फत स्विट्जरल्यान्डले नेपाललाई संघीय लोकतान्त्रिक राज्यका रूपमा विकास गर्न, समतामूलक सामाजिक तथा आर्थिक प्रगति प्रवर्द्धन गर्न, र संघीय संरचनामा महिला तथा पुरुषलाई उनीहरूको अधिकार र जिम्मेवारीमा सक्षम बनाउने उद्देश्यले निरन्तर सहयोग गरिरहेको बताए। मेयरले संघीय राज्य विकास, रोजगारी तथा आय सृजनामा योगदान पुर्याउनुका साथै नेपाली आप्रवासी कामदारहरूको सुरक्षामा योगदान दिने, लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने, र प्रकोप जोखिम न्यूनीकरण जस्ता क्षेत्रमा एसडीसी प्रदेश सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताए। उनले एसडीसीका कार्यक्रमहरूलाई तुलनात्मक रूपमा थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रदेश सरकारले पूर्वाधार विकास गरेमा सूचना प्रविधिको क्षेत्र विस्तारका लागि बहुराष्ट्रिय कम्पनीहरूसँगको सहकार्यमा एसडीसीले सहयोग गर्ने पनि उल्लेख गरे।
कमेन्ट गर्नुहोस्
view comments