भारतले ७८ औँ स्वतन्त्रता दिवस भव्य रुपमा मनायो, लाल किल्लाबाट प्रधानमन्त्री मोदीले तिरङ्गा फहराए

4 महीना पहिले प्रकाशित

एजेन्सी,

नयाँ दिल्ली, साउन ३१ गते। भारतले आफ्नो ७८ औँ स्वतन्त्रता दिवस भव्य रुपमा मनाइरहेको छ। प्रत्येक वर्षको १५ अगस्तमा भारतले स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाउने गर्दछ।

यो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक लाल किल्लाबाट तिरङ्गा फहराएका छन्। उनले यस दिन हामीले स्वतन्त्रताको स्वाद चाख्न पाएकोमा गर्व व्यक्त गरेका छन्।

लाल किल्लामा भव्य कार्यक्रमको आयोजना गरिएको छ, भने भारतभरिका विभिन्न स्थान र विदेशस्थित भारतीय दूतावासहरूले पनि स्वतन्त्रता दिवस उत्सव मनाइरहेका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा राष्ट्रका महापुरुषहरूप्रति गहिरो सम्मान व्यक्त गर्दै देशप्रति ऋणी रहेको उल्लेख गरेका छन्। यो ११ औं पटक हो, जब मोदीले लाल किल्लाबाट तिरङ्गा फहराएका छन्। उनले भने, वर्तमान सरकारले जनताको आवश्यकता पूरा गरिरहेको छ।

यसअघि बिहान मोदीले राजघाटमा पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

यस वर्षको स्वतन्त्रता दिवसको थिम ‘विकसित भारत’ रहेको छ। स्वतन्त्रताको शताब्दीको उपलक्ष्यमा सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्रको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा बारम्बार हुने चुनावहरूले देशको प्रगतिलाई अवरुद्ध गरेको उल्लेख गर्दै ‘एक देश, एक चुनाव’ को नीति अपनाउनु पर्ने धारणा व्यक्त गरेका छन्। साथै, उनले परिवारवाद र जातिवादले भारतको लोकतन्त्रलाई गम्भीर क्षति पुर्‍याएको भन्दै ‘मेरो भारत’ को निर्माणको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?