हत्या कसले र किन गर्यो अस्पष्ट, अनुसन्धान जारी: डीएसपी एलिजा गिरी
8 महीना पहिले प्रकाशित

जनकपुरधाम, साउन ३० गते । रौतहटमा एक वृद्धको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका-५ निवासी ७४ वर्षीय अनिरुद्ध महतो (कोइरी) को शव बुधबार बिहान घरनजिकैको धानखेतमा फेला परेको हो।
डीएसपी एलिजा गिरीका अनुसार, महतो एक्लै धानखेतमै रहेको घरमा बस्दै आएका थिए। उनका अनुसार, महतोको शव घरदेखि करिब तीन सय मिटर टाढा, खेतमै विभत्स अवस्थामा फेला परेको थियो। शवको प्रारम्भिक जाँचले हत्या ७/८ घण्टा अघि भएको संकेत गरेको छ। महतोको शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको गहिरो चोटहरू भेटिएका छन्। शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।
डीएसपी गिरीले थप जानकारी दिँदै भनिन्, ‘हत्या कसले र किन गर्यो भन्ने अझै स्पष्ट छैन। महतो आफ्ना छोरा-बुहारीसँग नबसी खेतबारीको निगरानी गर्दै एक्लै बस्नुहुन्थ्यो। अहिलेसम्म हत्यामा संलग्न भएको आशंकामा कुनै पनि व्यक्ति पक्राउ गरिएको छैन, तर घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
कमेन्ट गर्नुहोस्
view comments