जम्बो मन्त्रिमण्डलको आलोचना पछि मधेस प्रदेशका ८ राज्यमन्त्री पदमुक्त
4 महीना पहिले प्रकाशित
जनकपुरधाम,साउन २९ गते । मधेस प्रदेश सरकारका ८ राज्यमन्त्रीलाई हटाउने निर्णय भएको छ। मुख्यमन्त्री सतिसकुमार सिंहले नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गर्ने निर्णय गरेको छ, जसको जानकारी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको छ।
मुख्यमन्त्री कार्यालयका अनुसार, हालै नियुक्त गरिएका ८ जना राज्यमन्त्रीलाई पदमुक्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइएको छ। केन्द्रको सत्तारूढ दलहरूको सहमतिअनुसार मुख्यमन्त्री सिंहले यो कदम उठाएका हुन्।
जम्बो मन्त्रिमण्डल विस्तारले चौतर्फी आलोचना निम्त्याएपछि सर्वसम्मतिमा राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिइएको मुख्यमन्त्री सिंहले जानकारी दिएका छन्।
गत मंगलबार प्रदेश सरकारले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो, भने त्यसअघि केशव राय, शारदा देवी थापा, र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रदेश कार्यालयका टिकाराम उप्रेतीले ८ वटै राज्यमन्त्रीहरूलाई पदमुक्त गर्न मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments