वीरगन्जमा भन्सार छल्दै भण्डारण गरिएको ४.८ करोड रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बरामद, भारतीय नागरिक फरार

8 महीना पहिले प्रकाशित

पर्सा,साउन २५ गते ।  पर्सा प्रहरीले शुक्रबार वीरगन्जमा एक भारतीय नागरिकको कोठाबाट ठूलो परिमाणमा भन्सार छल्दै भण्डारण गरिएको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। विशेष सूचनाको आधारमा शुक्रबार करिब १ बजे वीरगञ्ज महानगरपालिका–६, रेल्वेरोडमा रामप्रसाद बरैको घरमा छापा मारेर भाडामा बसिरहेका भारत बिहारका सुदामा प्रसादले अनधिकृत रूपमा भण्डारण गरेको एल्फबार राया डी ३/२५००० ब्रान्डको भेप बरामद गरिएको हो।

बरामद सामग्रीमा ७६ कार्टुनमा, प्रत्येकमा २०० थानको दरले जम्मा १५,२०० थान भेप समेटिएको छ, जसको अनुमानित मूल्य करिब ४ करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले भेपबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। उनले चीनमा निर्मित भेप नेपाल हुँदै भारत लग्न खोजिएको वा भारत हुँदै नेपाल ल्याइएको हो भन्ने कुरा अझै स्पष्ट नभएको बताए। भण्डारणमा संलग्न भारतीय नागरिक सुदामा प्रसाद फरार रहेका छन्, र उनको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?