जनमत पार्टीद्वारा मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहलाई स्पष्टीकरणको माग: सरकार सञ्चालनमा समन्वय अभावको आरोप

5 महीना पहिले प्रकाशित

काठमाडौं,साउन २५ गते ।  जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहलाई स्पष्टीकरण माग गरेको छ। मधेस सरकारको सञ्चालनमा पार्टीसँग समन्वय नगरेको आरोपमा पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण मागेको हो। २० सदस्यीय मन्त्रिपरिषद् गठन गरेको विषयमा मधेस सरकारको चौतर्फी आलोचना भइरहेको छ। मन्त्रालयको बाँडफाँड र जम्बो मन्त्रिपरिषद् गठनमा पनि मुख्यमन्त्री सिंहले पार्टीसँग सल्लाह नगरेको पार्टीका प्रवक्ता शरद सिंह यादवले बताएका छन्।

प्रवक्ता यादवका अनुसार, पार्टीसँग कुनै समन्वय नगरी मन्त्रालयको बाँडफाँड गरिएको र हालै राज्यमन्त्री थपिएको छ, जसले गर्दा मन्त्रालयहरूको काममा जनताको हकहितलाई प्राथमिकता दिन नसकेको भन्दै पार्टीले स्पष्टीकरण मागेको हो। पार्टीले मुख्यमन्त्री सिंहलाई अनावश्यक उद्घाटन समारोहमा समय बर्बाद गरेको, पार्टीका निर्देशनलाई बेवास्ता गरेको, बजेट बनाउने क्रममा सांसदहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा क्षति पुर्‍याएको आरोप पनि लगाएको छ।

पार्टी स्रोतका अनुसार, दबाबमा परेर मुख्यमन्त्री सिंहले गलत निर्णयहरू गर्न थालेका छन्। जम्बो मन्त्रिपरिषद् विस्तारको विरोध क्याबिनेट बैठकमै भएको दाबी एक मन्त्रीले गरेका छन्। ती मन्त्रीले अन्नपूर्णसँग भने, "हामीले जम्बो मन्त्रिपरिषद् बनाउँदा भोलि सर्वत्र आलोचना हुनसक्छ भनेर ध्यानाकर्षण गराएकै थियौं। उहाँले किन निर्णय गर्नुभयो, हामीलाई थाहा भएन।"

पार्टीका कतिपय नेताहरूले अध्यक्ष सीके राउतले सतिश कुमार सिंहलाई हटाएर संसदीय दलका नेता महेश यादवलाई मुख्यमन्त्री बनाउने तयारी गरेको बताएका छन्। यही कारण मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको उनीहरूको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?