चीन र रुसका अफगानिस्तानस्थित दूतावास तत्काल बन्द नहुने
4 वर्ष पहिले प्रकाशित

२०७८ साउन ३२ गते
अफगानिस्तान तालिबानको कब्जा गएसँगै अमेरिका र उसका सहयोगीहरुले काबुलमा रहेको आफ्ना दूतावास बन्द गर्ने क्रममा छन्। तर चीन र रुस भने तत्कालका लागि त्यहिँ रहने भएका छन्।
तत्कालका लागि दूतावास बन्द गर्ने वा कर्मचारीहरु उद्धार गर्ने योजना नरहेको चीन र रुसले उल्लेख गरेका छन्। अमेरिका, बेलायत, जर्मनीसहितका पश्चिमा देशले दूतावासका कर्मचारी तथा आफ्ना नागरिकहरु काबुल विमानस्थलबाट उद्धार गरिरहेका छन्। अमेरिकाको दूतावास काबुल विमानस्थल भित्रै सारिएको छ।
चीनले भने अहिलेसम्म त्यस्तो गरेको छैन। चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्रै रहन आदेश दिएको छ। यस्तै अवस्थाबारे सबै पक्षबाट जानकारी लिएको र आफ्ना नागरिकको सुरक्षाका प्रत्याभूत गर्न लागि परेको चीनले जनाएको छ।
रुसको परराष्ट्र मन्त्रालयले आइतबार सरकारी सञ्चारमाध्यमलाई अफगानिस्तानबाट आफ्ना कर्मचारी तथा नागरिक उद्धार गर्ने तत्काल कुनै योजना नरहेको बताएको थियो।
गएको जुलाईमा तालिबानका प्रतिनिधिले चीन भ्रमण गरेका थिए। तालिबान नेता मुल्लाह अब्दुल गनी बरादर र चीनका विदेश मन्त्री वाङ्ग यी बिच भेटवार्ता भएको थियो।
सो भेटवार्तालाई तालिबानलाई राजनीतिक शक्तिका रुपमा सार्वजनिक रुपमा मान्यता दिएको ठानिएको थियो। चीनले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिने बताएको छ।
कमेन्ट गर्नुहोस्
view comments