‘जलेश्वरका आधि जनसंख्या जेलमा बन्धक
4 वर्ष पहिले प्रकाशित
‘जलेश्वरका आधि जनसंख्या एक प्रकारले घरभित्रको जेलामा बन्धक छ’ राजनीतिक विश्लेषक सिकेलाल भन्छन् ‘उहाँहरुलाई जेल मुक्त गर्नैपर्छ ।’ उनले यो प्रसंग बडो मार्मिक ढंगले जलेश्वरको एक कार्यक्रममा उठाए ।
भिजिट जलेश्वरले आयोजना गरेको ‘जलेश्वरको विगत, वर्तमान र भविष्य’ विषयक विचारगोष्ठीमा राजनीतिक विश्लेषक लालले जलेश्वरको आधि जनसंख्या अर्थात् महिला शक्ति घरमा बन्धक रहेको र उनीहरु बाहिर नआएसम्म जलेश्वरसहित मधेशको विकास असम्भव रहेको औंल्याए ।
‘नारी सुरक्षित र शक्तिशाली भए मात्रै समाजको विकास सम्भव छ’ उनी भन्छन् ।
‘दलालीवला शक्ति संरचनाको चपेटामा जलेश्वर छ । यहाँका मेयर र सांसदहरु सिडिओभन्दा कयौं गुणा पदमा माथि छन् । तर, विडम्बना उनीहरु सिडिओको पछाडि हात मोल्दै दगुर्छन् । दलाली तथा दासमनोवृतिलाई छोड्नु पर्छ । ’, लालले थपे ‘भिखमा विकास र अधिकार दुनियाँमा कँही पाइएको छैन र पाइँदैन पनि । आफैलाई बुलन्द बनाउनुपर्छ । संघर्षपछि शक्ति स्वतः प्राप्त हुन्छ । यसमा हामी विश्वास गरौं’
अर्को प्रसंगमा उनले धार्मिक र जातीय सामाजिक तथा सांस्कृतिक संरचनाको आदानप्रदानको कमीले जलेश्वर विकासमा फडको नमारेको उनले कारण औंल्याए ।
नेपाल भारतबीच रोटी–बेटी र रोजगारीको सम्बन्धबारे उनले चर्चा गर्दै भने ‘काठमाडौं र दिल्लीको सम्बन्ध बढेर मात्र हुँदैन । यहाँ जलेश्वर र सुरसण्डबीचको सम्बन्ध विस्तार गर्नु जरुरी छ ।’ देशभरका मधेस भूभागमा सीमा वारी र पारीका वस्ती–वस्ती बिच सीमाञ्चल, जनसम्पर्क बढाउन सामाजिक अभियन्ताहरु लाग्नुपर्ने उनले स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
view comments