नहाय–खायसँगै छठको चारदिने अनुष्ठान सुरु, मिथिलाका घाटमा बढ्दै पर्वको चहलपहल
18 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २७ गते । सूर्य उपासनाको महापर्व छठ आजदेखि विधिवत् सुरु भएको छ। चार दिनसम्म विभिन्न धार्मिक विधि र कठोर नियम पालना गरी मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ अनुष्ठान गर्दैछन्। यस अवसरमा व्रतालुहरू पोखरी, नदी तथा अन्य जलाशयमा स्नान गरी शुद्धताको सङ्कल्प लिन्छन् र चोखो तथा सात्त्विक भोजन ग्रहण गर्छन्। मिथिला क्षेत्रमा ‘नहाय–खाय’ वा ‘नहाय–खायु’ नामले परिचित यस विधिबाट छठको औपचारिक सुरुवात हुने धार्मिक मान्यता छ। पर्वको पहिलो दिनदेखि नै घरपरिवारमा सरसफाइ, पूजाका सामग्रीको तयारी र आवश्यक व्यवस्थापनले चहलपहल बढाएको छ।
छठको दोस्रो दिन भोलि व्रतालुहरू दिनभरि निराहार बसेर साँझ सख्खरमा पकाइएको अरवा चामलको खिर तयार गर्छन्। उक्त खिर कुलदेवता र छठीदेवीलाई अर्पण गरेपछि प्रसादका रूपमा ग्रहण गरिन्छ। यस अनुष्ठानलाई ‘खरना’ भनिन्छ। तेस्रो दिन पुनः निराहार व्रत बसेका व्रतालुहरू साँझ सजाइएका घाटमा पुगेर कम्मरसम्म पानीमा उभिई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। प्रसादले भरिएको बाँसको डाली सूर्यतर्फ देखाएर गरिने यस विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ। पर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने अनुष्ठान सम्पन्न हुन्छ। यसरी अस्ताउँदो र उदाउँदो सूर्य दुवैको उपासना गरिने छठले प्रकृति, शुद्धता, अनुशासन र आस्थाको विशिष्ट सन्देश बोकेको छ।
मिथिला र तराईको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित छठ पर्व पछिल्लो समय भौगोलिक तथा सामुदायिक सीमाभन्दा बाहिर फैलिँदै गएको छ। पहाड र मधेसबीचको सांस्कृतिक आदानप्रदानसँगै यो पर्व विभिन्न समुदायले साझा रूपमा मनाउने परम्परा विकास हुँदै गएको छ। सूर्यप्रति कृतज्ञता व्यक्त गर्ने, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने तथा सामूहिक सहभागितामार्फत सामाजिक सद्भाव बलियो बनाउने विशेषताले छठलाई धार्मिक अनुष्ठानसँगै साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments