लक्ष्मीपूजामा ५८७ मेगावाट विद्युत् भारत निर्यात, विपद्का बीच पनि आपूर्ति अवरुद्ध भएन
10 घन्टा पहिले प्रकाशित
काठमाडौं, कार्तिक २३ गते । प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहे पनि नेपालले यस वर्षको लक्ष्मीपूजामा आन्तरिक माग पूरा गर्दै ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो। सोही समयमा प्रणालीमा २ हजार ४००.३० मेगावाट विद्युत् उपलब्ध रहेकाले माग धानेर बाँकी विद्युत् भारत निर्यात गरिएको हो। प्राधिकरणले लक्ष्मीपूजाको समयमा देशभर विद्युत् आपूर्तिमा कुनै अवरोध नभएको जनाएको छ। यस वर्ष स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट तथा नदी प्रवाही, अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाबाट थप विद्युत् प्रणालीमा उपलब्ध भएको थियो।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग १ हजार ७४५ मेगावाट रहेकामा यस वर्ष ६८ मेगावाटले वृद्धि भएको छ। काठमाडौँ उपत्यकाको उच्चतम माग पनि गत वर्षको ४०२ मेगावाटबाट बढेर ४८९ मेगावाट पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चुनौतीपूर्ण अवस्थामा समेत विद्युत् माग व्यवस्थापन गर्न सफल भएको भन्दै प्राधिकरणका कर्मचारी, व्यवस्थापन र उपभोक्तालाई धन्यवाद दिएका छन्। उनले आइतबार साँझ भार प्रेषण केन्द्र पुगेर विद्युत् माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार सम्भावित समस्या तत्काल समाधान गर्न देशभर प्राविधिक टोली, आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको थियो। समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए।
कमेन्ट गर्नुहोस्
view comments