आईजीपी प्रकरणदेखि दलको आन्तरिक राजनीतिसम्म सरकारमाथि पौडेलका प्रश्नैप्रश्न

18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २७ गते ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषय उठाउँदै सरकारको नैतिकता र जवाफदेहितामाथि प्रश्न गरेका छन्। शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई दोष लाग्न सक्ने सन्देश मेटाएर अरूमाथि आरोप लगाउने प्रसंग उल्लेख गर्दै विगतमा यस्तो गतिविधि भएको भए सम्बन्धित सल्लाहकारले पद छाड्नुपर्ने अवस्था आउन सक्ने बताए। आईजीपी प्रकरणमा सरकारले लिएको निर्णय र त्यससँग जोडिएका घटनाक्रमबारे स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो। प्रधानमन्त्री तथा उनका सल्लाहकारहरू पदमा रहेकै आधारमा आफूहरूमाथि उठेका प्रश्नको जवाफदेहिताबाट उम्किन नमिल्ने पौडेलको भनाइ थियो।

पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले कांग्रेससहित अन्य राजनीतिक दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोपसमेत लगाए। नेतृत्व चयनदेखि पार्टी विभाजनसम्मका विषयमा सरकारले चासो देखाउनु लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको दाबी थियो। दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गरेका सबै निर्णय स्वीकार गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले नागरिकलाई सरकारसँग प्रश्न गर्ने पूर्ण अधिकार रहेको बताए। कांग्रेस आफ्ना नेता तथा पार्टीको सम्पत्तिसमेत कानुनसम्मत छानबिन गर्न तयार रहेको तर राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई पक्राउ गर्ने, थुनामा राख्ने वा पार्टीलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने उनले स्पष्ट पारे। सरकारलाई अन्य दलमाथि प्रतिशोध साँध्नुभन्दा सुशासन कायम गर्ने, बिचौलियाको चलखेल रोक्ने र भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउन पौडेलले आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?