राजर्षिजनक विश्वविद्यालयले अब अनुसन्धान र प्राविधिक शिक्षालाई बनाउँदैछ मुख्य आधार
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज २१ गते । राजर्षिजनक विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट अघि सारेको छ। सिनेट बैठकमा प्रस्तुत प्रस्तावअनुसार पूँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड ८ लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालयले शैक्षिक विस्तारलाई तीव्रता दिँदै आगामी शैक्षिक सत्रमा कम्तीमा ५ हजार नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ। हाल विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा ५ हजार ९२७ विद्यार्थी अध्ययनरत छन् भने बिआइटी, एमसिए, बिएएलएलबी र एलएलएमसहित नौ नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
विश्वविद्यालयले अब पूर्वाधारसँगै प्राविधिक शिक्षा, अनुसन्धान र बजारमुखी अध्ययनलाई प्राथमिकता दिने योजना अघि सारेको छ। धनुषाको नगराइनमा ९ बिघा १४ कठ्ठा जग्गामा आधुनिक शैक्षिक भवन निर्माण, रौतहटको गौरमा बहुमुखी क्याम्पस भवन तथा बारामा प्रविधि विषयको आङ्गिक क्याम्पस स्थापनाको प्रक्रिया अघि बढाइनेछ। काठमाडौंमा कानुनको छुट्टै आङ्गिक क्याम्पस स्थापना गर्ने तथा उच्चस्तरीय अनुसन्धान तथा नवप्रवर्तन निकाय गठन गर्ने प्रस्ताव पनि गरिएको छ। पूर्वीय दर्शन, रामायण सर्किट, मिथिला कला तथा संस्कृतिसम्बन्धी अनुसन्धान र अन्तर्राष्ट्रिय सम्मेलनलाई समेत प्राथमिकता दिइएको छ। सिनेट बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेशको शिक्षा सुधारमा राजर्षिजनक विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments