जनकपुरको ब्लड बैंकमा १५२ युनिट रगत मौज्दात, दुर्लभ समूहका दातालाई सम्पर्कमा रहन आग्रह
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज १९ गते । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको ब्लड बैंक जनकपुरधाममा विभिन्न रक्त समूह गरी कुल १५२ युनिट रगत मौज्दात रहेको छ। रेडक्रसका अनुसार ‘ए’ पोजेटिभ १०, ‘बी’ पोजेटिभ ४९, ‘ओ’ पोजेटिभ ७२, ‘एबी’ पोजेटिभ ५, ‘ए’ नेगेटिभ १ र ‘एबी’ नेगेटिभ २ युनिट रगत उपलब्ध छ। यसबाहेक ‘बी’ पोजेटिभको पीआरबीसी ७, ‘ओ’ पोजेटिभको ४ र ‘एबी’ पोजेटिभको २ युनिट मौज्दात रहेको जनाइएको छ। आकस्मिक उपचार, प्रसूति, शल्यक्रिया तथा दुर्घटनाका बिरामीलाई जुनसुकै बेला रगत आवश्यक पर्न सक्ने भएकाले रेडक्रसले नियमित रक्तदानलाई निरन्तरता दिन आग्रह गरेको छ।
रेडक्रस धनुषा शाखाका सभापति पंकजकुमार महतोले मौज्दात रहे पनि सबै रक्त समूह समान रूपमा उपलब्ध नहुने भएकाले विशेषगरी दुर्लभ रक्त समूहका दातालाई आवश्यक पर्दा तत्काल सम्पर्कमा आउन आग्रह गरेका छन्। उनले रक्तदानलाई सहयोगमा मात्र सीमित नभई जीवन बचाउने मानवीय जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। रेडक्रस धनुषा शाखाले स्वस्थ व्यक्तिलाई स्वेच्छिक तथा नियमित रक्तदान अभियानमा सहभागी हुन आग्रह गर्दै ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित आवश्यकताअनुसार रक्त सेवा लिन र रक्तदान गर्न सर्वसाधारणलाई अपिल गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments