सिप्रबी सेक्युरिटिज प्रा.लि द्वारा जनकपुरधाममा 'वित्तीय साक्षरता यात्रा २०८३' अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

1 घन्टा पहिले प्रकाशित

 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा विभिन्न कलेजका विद्यार्थीलाई लक्षित गर्दै पुँजीबजार, बचत, लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान

जनकपुरधाम, कार्तिक १९ गते ।  नेपालको पुँजीबजारमा सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको सिप्रबी सेक्युरिटिज प्रा.लि. (स्टक ब्रोकर नं. २२) को आयोजनामा 'वित्तीय साक्षरता यात्रा २०८३' अन्तर्गत मधेश प्रदेशको राजधानी जनकपुरधाममा Model Multiple College का विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता तथा पुँजी बजार सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। विशेषगरी युवा पुस्तामा वित्तीय ज्ञान, बचत गर्ने बानी, लगानी प्रतिको सकारात्मक सोच तथा पूँजी बजार सम्बन्धी व्यावहारिक जानकारी अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थीलाई अध्ययनसँगै आर्थिक रूपमा सचेत, जिम्मेवार र आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्यसहित सञ्चालन गरिएको वित्तीय साक्षरता यात्राले वित्तीय शिक्षाको महत्त्वलाई उजागर गरेको छ।

कार्यक्रममा नेपालको पुँजीबजारको वर्तमान संरचना, धितोपत्र बजारको आधारभूत अवधारणा, प्राथमिक तथा दोस्रो बजारबीचको भिन्नता, साधारण सेयर (IPO), डिम्याट खाता, मेरो सेयर, C-ASBA प्रणाली, दोस्रो बजारमा सेयर खरिद बिक्री गर्ने प्रक्रिया तथा लगानी गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण विषयहरू बारे जानकारी प्रदान गरिएको थियो। त्यसैगरी, विद्यार्थीलाई नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र दलाल व्यवसायीहरूको भूमिका बारे जानकारी दिँदै पुँजी बजारमा सुरक्षित, व्यवस्थित र जिम्मेवार ढंगले सहभागी हुन आवश्यक ज्ञान प्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। कार्यक्रममार्फत सेयर बजारमा लगानी गर्नु भनेको केवल छोटो समयमा नाफा कमाउने माध्यम नभई अध्ययन, विश्लेषण, धैर्य, अनुशासन तथा दीर्घकालीन वित्तीय योजनासँग जोडिएको विषय भएको सन्देश प्रवाह गरिएको थियो। कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नु अघि सम्बन्धित कम्पनीको वित्तीय अवस्था, व्यवसायको प्रकृति, सम्भावित जोखिम, बजारको अवस्था तथा आफ्नो आर्थिक क्षमताको मूल्यांकन गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

पछिल्लो समय युवा पुस्तामा पुँजीबजारप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा पर्याप्त जानकारी र अध्ययन बिना सामाजिक सञ्जालमा फैलिने अफवाह तथा अरूको सल्लाहकै आधारमा लगानी गर्ने प्रवृत्तिबाट जोगिनुपर्ने विषयलाई समेत कार्यक्रममा महत्त्वका साथ प्रस्तुत गरिएको थियो। लगानीमा सम्भावित प्रतिफल संगै जोखिम समेत रहने भएकाले सही ज्ञान, विवेकपूर्ण निर्णय र जोखिम व्यवस्थापनको आवश्यकता औंल्याइएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीलाई सानै उमेरदेखि वित्तीय अनुशासनको विकास गर्न, आफ्नो आय तथा खर्चको उचित व्यवस्थापन गर्न, बचत र लगानीबीचको सम्बन्ध बुझ्न तथा भविष्यमा आर्थिक निर्णय लिँदा सचेत बन्न महत्त्वपूर्ण सहयोग पुऱ्याउने विश्वास लिइएको छ।

सिप्रबी सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. २२) ले पुँजीबजारसम्बन्धी जनचेतना अभिवृद्धि, लगानीकर्ताको ज्ञान विस्तार तथा वित्तीय पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरेको 'वित्तीय साक्षरता यात्रा २०८३' वित्तीय रूपमा शिक्षित र जिम्मेवार समाज निर्माण तर्फको सकारात्मक पहलका रूपमा रहेको छ। यस्ता सचेतनामूलक कार्यक्रमले पुँजी बजारप्रति सर्वसाधारण तथा विद्यार्थीको बुझाइलाई थप स्पष्ट बनाउनुका साथै नेपालको वित्तीय क्षेत्रको दिगो विकास, पारदर्शिता र जिम्मेवार लगानी संस्कृतिको प्रवर्द्धनमा योगदान पुऱ्याउने विश्वास गरिएको छ।

वित्तीय ज्ञानको विस्तार, सचेत लगानीकर्ताको निर्माण र समृद्ध आर्थिक भविष्यको आधार तयार गर्ने उद्देश्यसहित सिप्रबी सेक्युरिटिज प्रा.लि.को 'वित्तीय साक्षरता यात्रा २०८३' अघि बढाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?