जनकपुरधाम कांग्रेसको नगर सभापतिमा लालबाबु मिश्र निर्वाचित
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज १३ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका नगर सभापतिमा लालबाबु मिश्र निर्वाचित भएका छन्। मिश्रले २४३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी परमेश्वर साहलाई ६६ मतान्तरले पराजित गरेका हुन्। साहले १७७ मत प्राप्त गर्दा रामप्रसाद पजियारले ५४ र सञ्जीवले ४८ मत पाएका छन्। उपसभापतिमा वीरेन्द्रकुमार यादव १८८ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी मनमोहन साहले १६२ मत प्राप्त गरेका छन्। महिला उपसभापतिमा फूलकुमारी साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन्। सचिवमा रामदयाल यादव १३४ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी ध्रुवनारायण मिश्रले १२३ र राहुल मिश्रले ११५ मत प्राप्त गरेका छन्। सहसचिवमा ज्ञानेश्वर मण्डल विजयी भएका छन्।
जनकपुरधाम उपमहानगरपालिका कांग्रेस नगर समितिमा २५ वडाका सभापति पदेन सदस्य रहने व्यवस्था छ भने प्रत्येक वडाबाट दुई–दुई जना गरी ५० जना सदस्य चयन हुनेछन्। यस्तै, जेनजी समूहबाट तीन जना सदस्य चयन भएको जनाइएको छ। मिश्र यसअघि १४औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नगर सचिव निर्वाचित भएका थिए। नगर सभापतिमा निर्वाचित भएपछि उनले २५ वटै वडा कार्यसमितिलाई सक्रिय र सक्षम बनाउँदै वडा र नगरबीचको समन्वय सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यकर्तासँग नियमित संवाद, संगठन सञ्चालनमा पारदर्शिता तथा जवाफदेहिता, युवाको नेतृत्व विकास र विभिन्न समुदायको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राख्ने उनले बताएका छन्। साथै, आगामी निर्वाचनलाई लक्षित गर्दै वडा तहदेखि संगठन सुदृढ गर्ने र आधुनिक सञ्चार माध्यममार्फत पार्टीका गतिविधि जनतासमक्ष पुर्याउने योजना अघि सारेका छन्।
_1790668052_0.jpg)
कमेन्ट गर्नुहोस्
view comments