नारायणी नदीमा खतराको तह पार, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
16 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ११ गते । नारायणी नदीले खतराको तह पार गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। प्राधिकरणका अनुसार नारायणीको पानीको बहाव ११ मिटर नाघिसकेको छ र थप बढेर १३ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिमलगायत नारायणी नदी आसपासका बस्तीका बासिन्दालाई जोखिमबाट जोगिन सुरक्षित स्थानतर्फ जान प्राधिकरणले आग्रह गरेको हो।
समाचार तयार पार्दासम्म नारायणी नदीको पानीको सतह ११ दशमलव ४८ मिटर पुगेको जनाइएको छ। नारायणीमा ७ दशमलव ३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ। निरन्तर वर्षाका कारण नदीको बहाव थप बढ्न सक्ने भएकाले तटीय तथा होचा भूभागमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र प्रशासन तथा विपद् व्यवस्थापन निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments