अविरल वर्षापछि देशभरका दर्जनौँ सडक अवरुद्ध, रात्रीकालीन आवागमनमा रोक

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज ११ गते ।  केही दिनदेखि जारी अविरल वर्षाका कारण आएको बाढी, पहिरो र लेदोका कारण देशभरका मुख्य राजमार्ग, लोकमार्ग तथा भित्री सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरी तथा स्थानीय प्रशासनका पछिल्ला विवरणअनुसार धादिङको बेनीघाट रोराङ, कृष्णभीर र गजुरी तथा तनहुँको घाँसीकुवा, मौरीभीर, सेराटार र चुनपहरामा पहिरो जाँदा सडक दुवैतर्फ पूर्ण रूपमा बन्द भएको छ। काभ्रेको रोशी गाउँपालिकास्थित चारसयवेशी र गिम्दीवेशीमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध छ भने जोखिमलाई ध्यानमा राख्दै काभ्रे र सिन्धुली क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। अरनिको राजमार्गको धुलिखेल, कान्ति लोकपथको टाकुर्चे तथा पाङदुरडोल, नारायणगढ–मुग्लिन सडक, सिद्धिचरण लोकमार्ग, सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा बेँसीसहर–मनाङ सडक खण्डमा पनि पहिरो र बाढीका कारण आवागमन प्रभावित भएको छ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको उत्तरगया तथा खाल्टे क्षेत्रमा त्रिशूली नदीको कटान र बाढीले सडकमा क्षति पुर्‍याएपछि राजमार्ग पूर्ण रूपमा नष्ट भएको जनाइएको छ। स्याफ्रुबेँसीतर्फ जान टोखा–छहरे, विदुर, नुवाकोट दरबार, लच्याङ, कालिकास्थान हुँदै धुन्चे जाने वैकल्पिक कच्ची सडक प्रयोग गर्न आग्रह गरिएको छ। कोशी प्रदेशका ताप्लेजुङ, भोजपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म, मनाङमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म तथा दाङका विभिन्न सडक खण्डमा साँझदेखि बिहानसम्म आवागमन रोकिएको छ। म्याग्दीको बैसरी र सुकेबगर, मुस्ताङको कालोभिर र सेल्फीडाँडा, गुल्मी, रोल्पा, सल्यानलगायतका क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण जोखिम कायमै रहेकाले प्रशासनले यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा तोकिएको समयमा आवागमन नगर्न आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?