लहान क्याम्पसमा कृषि र इन्जिनियरिङ संकाय सञ्चालनको तयारी
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २८ गते । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभएको छ। लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको अनुगमन तथा निरीक्षण गर्दै उहाँले क्याम्पसमा पर्याप्त भौतिक पूर्वाधार रहेकाले कृषि र इन्जिनियरिङ संकाय थप गर्न सकिने बताउनुभयो। राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर ती संकाय सञ्चालनका लागि आफूले तत्काल पहल गर्ने उहाँको भनाइ छ।
मन्त्री पोखरेलले मधेश प्रदेशको कमजोर शैक्षिक अवस्थाबारे शिक्षक, अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया गरी समस्या समाधानका लागि शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभयो। उहाँले लहान–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालयको पनि निरीक्षण गर्दै पुरानो विद्यालयको साख फर्काउन विज्ञान तथा प्रविधियुक्त पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो। सिरहा–१ का सांसद बब्लु गुप्ताले बस्तीपुर र हनुमान शारदा माध्यमिक विद्यालयलाई स्तरीकरण गर्ने चुनावी प्रतिबद्धता पूरा गर्न पहल भइरहेको तथा सखुवानन्कारकटि र लक्ष्मीपुर पतारीमा समेत शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने बताउनुभयो।
कमेन्ट गर्नुहोस्
view comments