नेपाल–भारत सीमा हुँदै बिना भिसा प्रवेश गर्ने उज्बेकिस्तानी महिला सीतामढ़ीमा पक्राउ

24 दिन पहिले प्रकाशित

एजेन्सी, कार्तिक २१ गते ।  नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निकायहरूको निगरानीबीच पनि अवैध गतिविधि रोकिएका छैनन्। बिहारको सीतामढ़ी जिल्लास्थित सोनबरसा नाकामा पुनः एक उज्बेकिस्तानी महिला बिना भिसा र पासपोर्ट भारत प्रवेश गर्ने क्रममा पक्राउ परेकी छन्। सीमा सुरक्षा बल (एसएसबी) का जवानहरूले उनलाई नियन्त्रणमा लिएका हुन्।

एसएसबीका अनुसार पक्राउ परेकी महिला ३० वर्षीया सोफिया उज्बेकोवा हुन्, जो सर्लाहीका १९ वर्षीय बिकेश कुमार रायसँग स्कुटीमा सवार भएर नेपालतर्फबाट भारत प्रवेश गर्दै थिइन्। तलासीका क्रममा स्कुटीमा दर्ता प्रमाणपत्र नभएको, मोबाइल फोन र नेपाल, भारत तथा उज्बेकिस्तानका सिमकार्ड बरामद भएको बताइएको छ। सोफियासँग पासपोर्ट र भिसा फेला नपरेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि खुफिया निकायलाई बुझाइएको छ।

बिहारमा जारी विधानसभा चुनाव र प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ। सोनबरसा, भिट्ठामोड, बैरगनिया, मेजरगञ्ज लगायतका नाकामा सिसिटिभी र श्वानदस्ता परिचालन गरी कडा निगरानी बढाइएको छ। पछिल्ला दुई वर्षमा यही सीमा क्षेत्रमा चिनियाँ, पाकिस्तानी, उज्बेकिस्तानी र सुडानी नागरिक पक्राउ परेका घटना पनि सार्वजनिक भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?