भारतमा दीपावलीको उज्यालो उमंग : मोदीको शुभकामना, स्वदेशी उत्पादन किन्न आग्रह

1 महीना पहिले प्रकाशित

नयाँ दिल्ली , कार्तिक ३ गते ।  भारतमा सोमबार पूरै हर्षोल्लासका साथ दीपावली पर्व मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई हार्दिक शुभकामना दिँदै प्रकाशको यो पावन पर्वले सबैको जीवनमा सुख, समृद्धि र सौहार्द्यको उज्यालो भरोस् भनी कामना गरेका छन्। एक्समा साझा गरेको सन्देशमा मोदीले भने, “सबै देशवासीलाई दीपावलीको हार्दिक शुभकामना। यो पावन पर्वले हरेकको जीवनलाई सुख-समृद्धि र सौहार्द्यबाट आलोकित गरोस्।” राष्ट्रपति द्रौपदी मुर्मूले पनि देश र विश्वभरका भारतीयहरूलाई बधाई दिँदै वञ्चित र आवश्यकता भएकाहरूलाई सहयोग गर्न तथा पर्यावरणमैत्री र सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेकी छन्। केन्द्रीय गृह मन्त्री अमित शाहले स्वास्थ्य र समृद्धिको कामना गर्दै भगवान् श्रीरामबाट सबैको कल्याणको प्रार्थना गरेका छन्।

 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दीपावलीलाई सत्यको शाश्वत् विजयको प्रतीक मानेर शुभकामना व्यक्त गर्दै यो पर्व आत्मामा आशाको किरण, समाजमा समरसता र राष्ट्रिय पुनरुत्थानको सङ्कल्प भएको बताए। उनले प्रभु श्रीराम र माता जानकीको कृपा सबैको हृदयमा उज्यालो भरोस् भनी प्रार्थना गरेका छन्। यसअघि नै प्रधानमन्त्री मोदीले त्योहार अवधिमा स्वदेशी उत्पादन किन्ने आग्रह गर्दै भारतीय कारीगर र उत्पादकहरूलाई प्रोत्साहन दिनुपर्ने बताएका थिए। एक्समा लेख्दै उनले भने, “यो त्योहारी मौसमलाई १४० करोड भारतीयहरूको कडा मेहनत, रचनात्मकता र नवीनताको उत्सव बनाऔँ। भारतीय उत्पादन किनेर गर्वका साथ भनौँ– यो स्वदेशी हो ! सोसल मिडियामा साझा गरी अरूलाई पनि प्रेरित गरौँ।” यो सन्देशले दीपावलीको सांस्कृतिक महत्वसँगै आर्थिक आत्मनिर्भरताको सन्देश पनि बोकेको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?