छोटी दिवालीमा दिल्लीमा प्रदूषण चरममा, दक्षिण भारतमा भारी वर्षाको चेतावनी

4 घन्टा पहिले प्रकाशित

एजेन्सी,कार्तिक २ गते ।  दिल्ली–एनसीआर क्षेत्रमा जाडोको सुरुवातसँगै वायु प्रदूषण फेरि चर्किएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) का अनुसार शनिबार साँझसम्म दिल्लीको वायु गुणस्तर सूचकांक (AQI) 268 पुग्यो, जुन “खराब” श्रेणीमा पर्दछ। गाजियाबादमा AQI 324 “अत्यन्त खराब” श्रेणीमा पुगेको छ भने नोएडा र गुरुग्राममा क्रमशः 298 र 258 मापन गरिएको छ। पाँच दिनदेखि लगातार खराब श्रेणीमा रहेको वायु प्रदूषणले राजधानीको हावा धमिलो बनाएको छ। मौसम विभागका अनुसार दिल्लीमा आज बिहान हल्का कुहिरो र दिउँसो सफा मौसम रहनेछ।

उत्तर प्रदेशमा आगामी पाँच दिनसम्म मौसम शुष्क रहने अनुमान गरिएको छ। उत्तर–पश्चिमी हावाका कारण तापक्रममा गिरावट आउने भएकाले रातमा चिसो बढ्नेछ। उत्तराखण्डमा आज मौसम सफा रहनेछ भने हिमाली क्षेत्रमा बिहान–साँझ चिसो बढ्ने सम्भावना छ। हिमाचल प्रदेशमा २४ देखि ३० अक्टोबरबीच उच्च भू–भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ।

बिहारमा आज (छोटी दिवाली) वर्षाको सम्भावना छैन, मौसम मुख्यतः सफा र सुख्खा रहनेछ। यद्यपि मध्य प्रदेश र छत्तीसगढमा २१–२२ अक्टोबरतिर मेघ गर्जनसहित हल्की वर्षा हुनसक्ने र त्यसको असर पूर्वी भारतमा आंशिक रूपमा पर्न सक्ने जनाइएको छ। मध्य प्रदेशमा इन्दौरसहित केही स्थानमा हल्की वर्षाको सम्भावना छ भने महाराष्ट्रको कोंकण, गोवा र दक्षिण–मध्य क्षेत्रका केही भागमा आगामी दिनहरूमा वर्षा र बिजुली चम्किने चेतावनी जारी गरिएको छ।

दक्षिण भारततिर मौसम विभागले लक्षद्वीप, केरल, तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशका तटीय क्षेत्रहरूमा भारीदेखि अत्यधिक वर्षाको सम्भावना बताएको छ। बंगालको खाडी र अरब सागरमा बनेका न्यून दबाबका कारण आगामी केही दिन ती क्षेत्रहरूमा मौसम अझै अस्थिर रहने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?